बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ।
सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो। डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ। उनले भने, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ।”
अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो। सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन्।
हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ। आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेका छन्। अहिले मेलम्चीबाट काठमाडाैँ र काठमाडाैँबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन्। यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खसिरहेको छ।