काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणको जिम्मा 'आईएसआईएस-के' समूहले लिएको छ।
कम्तीमा ९० जनाको मृत्यु र सयौँ अरू घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।
अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो। इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा खडा गरिएको हो।
आईएसलाई त्यसयता अमेरिकी नेतृत्वको फौजले हराइसकेको भए पनि आईएसआईएस-के भने अफगान र पाकिस्तानी लडाकुहरूलाई सामेल गरेर शक्तिशाली बनिरहेको छ। यसका धेरै सदस्यहरू तालिबानका पूर्वलडाकुहरू छन्।