निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ ।
गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेकाअनुसार निर्वाचन आयोगबाट पत्रको व्यहोरा सहितको औपचारिक जानकारी आज शुक्रबार प्राप्त भएको हो । पत्रको व्यहोरामा संघीय संसद सचिवालय तथा प्रदेश संसद सचिवालयलाई कार्यार्थ उल्लेख गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
पत्र प्राप्त भएपछि सो दुई दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन, गाडी सुविधा तथा अन्य नियमानुसार प्राप्त हुने सुविधा सचिवालयले उपलब्ध गराउने प्रवक्ता पाण्डेले बताए ।
नेता नेपाल अध्यक्ष रहेको नेकपा (एस), मा ३० सांसद र नेता ठाकुर अध्यक्ष रहनुभएको लोसपामा १४ सांसद रहेका छन् ।