दोदा नदीको बाढीबाट डुबानमा परेका पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ। सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन्। चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो।
बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ। बाढीको पानीकै कारण आज दिनभर हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो। बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताए।
माटोको गा¥हो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन्। घरमा फर्किने अवस्था नआउँदासम्म पीडितलाई खाना बस्न र औषधि उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताए। डुबानमा परेका परिवारको खाद्यान्न, लताकपडा सबै कामै नलाग्ने अवस्थामा रहेको छ। दुई दिनदेखि लगातारको चुरे क्षेत्रमा भएको वर्षापछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका बस्ती डुबानमा परेका हुन्।