काठमाडौं — नेपाली कांग्रेसमा देशका सबै जिल्लामा एकसाथ वडा अविधेशन गर्ने भएको छ ।
शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा उक्त सहमति भएको हो । त्यसको कार्यान्वयनका लागि सबै पक्ष छलफलमा जुटेका छन् ।
शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गर्दै सकिएको थियो । सोअनुसार शुक्रबार राति देउवा र पौडेल पक्षबीच भेट भएको थियो ।