नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले आज आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका छ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए ।
उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका थिए ।
बैठकमा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको उनले बताए ।
योसँगै क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए ।
कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको थियो । त्यस्तै, शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।
कांग्रेसकोे १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।