नेपाली नेताले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसंग भेट गरेको विषयमा नेकपा एमाले उपाध्यक्ष डा.भीम रावलले आपत्ति जनाएका छन् ।
आइतबार ट्वीट गर्दै रावलले कूटनीतिक मर्यादाको सीमा नाघेर नेपाली नेताले भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् भनेर प्रश्न गरेका छन् ।
साथै उनले अगाडि भनेका छन्, ‘कुनकुन नेपाली नेताले राष्ट्रिय हितका के कुरा गरेछन्, जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि ?’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले गत शनिबार नेपाल आएका थिए । ५ दिन नेपाल बसेका उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
साथै, चौथाइवालेले मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, जनार्दन शर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित अन्य पार्टीका नेताहरू विष्णु पौडेल, बिमलेन्द्र निधि र वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए ।
तर उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भने भेटेनन् ।
सम्बन्धित समाचारः
यस्तो छ विजय चौथाईवालेले उपेन्द्र यादव र बाबूराम भट्टराईलाई नभेट्नुको कारण