मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको छ ।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।
शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
आलोचना
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । सत्तारूढ गठबन्धनबीच संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसले पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको छ ।
हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।