नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको दिएको अभिव्यक्तिको एमाले नेता भीम रावल र योगेश भट्टराईले जवाफ दिएका छन् ।
नेपालले शनिबार एक कार्यक्रममा बोल्दै दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका थिए । नेपालको उक्त अभिव्यक्तिप्रति संकते गर्दै एमाले उपाध्यक्ष रावलले ट्वीटमार्फत जवाफ फर्काएका छन् ।
रावलले कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने बताएका छन् ।
नेपाललाई जवाफ दिँदै रावलले भनेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो । द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’
साथै शनिबार नै नेपालले दोस्रो पुस्ताका नेता आफ्नो पार्टीमा अध्यक्ष पद दिने तयार रहेको बताएका थिए । त्यसको जवाफ नेपालललाई भट्टराईले दिएका छन् ।
एमाले सचिवसमेत रहेको भट्टराईले नेपालको अभिव्यक्त राम्रो रहेको भन्दै स्वागत गरेका छन् । आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाइदिए झनै राम्रो योगेशको सुझाव छ ।
उनले भनेका छन्, ‘ राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’
रावल र भट्टराई यसअघि नेपाल पक्षमा थिए । तर, नयाँ पार्टी दर्ता गर्दा उनीहरूले नेपालको साथ छाडेका थिए ।