नेकपा एकीकृत समाजवादी पार्टीले ६ मन्त्रालय पाउने भएको छ । तर, अहिलेसम्म मन्त्रीको टुंगो लागेको छैन ।
समाजवादीका नेता मेटमणि चौधरीका अनुसार आइतबार बिहान अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गरेको छलफलमा ६ मन्त्रालय पाउने टुंगो लागेको हो ।
सम्भवत सोमबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ । सोमबारसम्म मन्त्रीको नाम टुंगो लाग्ने चौधरीले बताए ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । सत्तारूढ गठबन्धनबीच संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसले पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको छ ।
हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।