करिब ९ करोड मूल्य बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । उक्त कोकिन २ किलो ९६६ ग्राम रहेको छ ।
पक्राउ पर्नेमा तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो, दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा र भारतीय नागरिक विजय सिंह रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो व्युरोको प्रवक्ता जीवन श्रेष्ठले गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् । विशेष सूचनाको आधारमा व्यूरोको टोलीले उनलाई कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो ।
कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाट पक्राउ गरिएको थियो ।
तान्जानियाका नागरिक किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको व्यूरोले जनाएको छ ।
अभियुक्तहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुन्धान भइरहेको छ ।