जिम्बाब्वेका सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न विराटनगर वरियर्समा आबद्ध भएका छन् ।
विराटनगरले आफ्नो पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा सिकन्दर राजासँग सम्झौता गरेको हो । विराटनगरले सामाजिक सञ्जालमा सिकन्दर राजासँगको सम्झौताको पुष्टि गरेको छ ।
पाकिस्तानको सियालकोटमा जन्मिएका ३५ वर्षीय सिकन्दर सन् २००२ मा बुवाआमासँगै जिम्बाब्वे सरेका थिए । उनी दाहिने हाते ब्याट्सम्यान र दाहिने हाते अफ स्पिन बलिङ गर्छन् ।
जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ अन्तर्राष्ट्रिय एकदिवसीय र ४२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा चार शतक बनाएका छन् ।
टी ट्वान्टीमा उनले १०६ को स्ट्राइक रेटले एक अद्र्धशतकसहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिएका छन् ।
उनीसँग पाकिस्तान सुपर लिग, क्यारेबियाली प्रिमियर लिगसहित दर्जनौं फ्रेञ्चाइज क्रिकेटमा खेलेको अनुभव छ ।