विवेकशील साझा पार्टीमा फेरि विवाद सुरु भएको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएपछि विवेकशील साझामा फेरि विवाद सिर्जना भएको हो ।
मिश्रले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन् ।
अध्यक्ष मिश्रले पार्टी एकीकरण सम्झौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठकको आह्वान गरेर ’कु’ गरेको केन्द्रीय सदस्य महेश पाठकले आरोप लगाएका छन् । पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो ।
उनले भनेका छन्, ‘मिश्र जीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुरा कै झल्को दिएको छ । ज्ञानेन्द्र शाहको ’कु’ त टिकेन । मिश्र जीको ’कु’ पनि टिक्ने छैन ।’
उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै एकल रुपमा बोलाइएको केन्द्रिय समिति बैठक बहिष्कार गर्ने जानकारी दिएका छन् । साथै यस ‘कु’ को प्रतिकारमा उत्रन उनले सबैमा आह्वान गरेका छन् ।
यसअघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने माग गरेपछि विवेकशिल साझामा विवाद चर्किएको थियो । मिश्रलाई काउन्टर दिँदै पाण्डले नयाँ प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यसपछि चर्किएको विवाद मत्थर नहुँदै विवेकशिल साझामा फेरि अर्को विवाद सुरु भएको हो ।