एपी वान टेलिभिजनले एमसीसीको विज्ञापन प्रसारण नगर्ने भएको छ ।
एमसीसी देशको हितमा रहेको सन्देश दिनेगरी एपी वानबाट विज्ञापन प्रसारण गर्न थालेको थियो ।
एपी वान टेलिभिजनले सोमबार साँझ एक सूचना जारी गर्दै उक्त विज्ञापन अवउप्रान्त प्रसारण नगर्ने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ, निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम कानूनभित्र रहेर प्रसारण गरिएको भएपनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्वजनिक दायित्व पालना गरिआएको जिम्मेवार संस्थाकोरुपमा एपी वानल व्यवस्थापनले उक्त विज्ञापन अवउप्रान्त प्रसारण नगर्ने निर्णय गरेको छ ।
राजनीतिक रुपमा समेत विवादित एमसीसीबारे विज्ञापन नै बनाएर प्रसारण गर्न थालेपछि त्यसको विरोध भएको थियो । एमसीसीबारे विज्ञापन प्रसारण रोक्न माग गर्दै डा. सूर्यराज आचार्य, युवा अभियान्ता हेमराज थापालगायतले अभियान नै सञ्चालन गरेका थिए ।
सोमबार नै उन्नत लोकतन्त्र पार्टीले तत्काल एमसीसी समर्थनको विज्ञापन हटाउन चेतावनीसहित एपी वान टेलिभिजनलाई स्मरणपत्र बुझाएको थियो । एमसीसीबारेका विज्ञापन तत्काल नरोके सञ्चार माध्यमलाई बहिष्कार गर्ने चेतावनी दिइएको थियो ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा उक्त परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ ।
तर, त्यसबारे राजनीतक सहमति हुन सकेको छैन । जसकारण एमसीसी झन विवाददि बन्दै गइरहेको छ भने त्यसको विरोध भइरहेको छ ।
सम्बन्धित समाचारः एमसीसीबारे टेलिभिजनमा विज्ञापनः सर्वत्र विरोध, प्रसारण नरोके बहिष्कार गर्ने चेतावनी