विवेकशील साझा पार्टीमा विवाद चुलिँदै गएको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएपछि विवेकशील साझामा विवाद सिर्जना भएको हो ।
मिश्रले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाएको भन्दै पाण्डे पक्षले बैठक रोक्न माग गरेको थियो । तर, मिश्रले बैठक रोक्न नमान्दा पाण्डे पक्षले काउन्टर दिँदै बिहीबार नै बैठक बोलाएपछि विवेकशिल साझा विवाद चुलिँदै गएको हो ।
पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो ।
यसअघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने माग गरेपछि विवेकशिल साझामा विवाद चर्किएको थियो । मिश्रलाई काउन्टर दिँदै पाण्डले नयाँ प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यसपछि चर्किएको विवाद मत्थर नहुँदै विवेकशिल साझामा फेरि अर्को विवाद चुलिँदै गएको हो । पछिल्ला विवादले विवेकशिल साझा विभाजनतर्फ उन्मुख भएको कतिपयको विश्लेषण छ ।