मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुंगिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले कुन मन्त्रालय कसले पाउने विषय टुंगो लगाउने बताइएको छ । तर, सहमति हुन नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच आजै फेरि छलफल हुने सम्भावना छ ।
बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, मन्त्रालय र संख्यामा सहमति हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा सकस भएको हो ।
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ ।
मन्त्रिपरिषद् विस्तारबारे विगत ती दिनदेखि लगातार छलफल भइरहेको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।