काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट रकम सङ्कलन अभियान अगाडि बढाइएको छ ।गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमका अनुसार अभियानमा हालसम्म करिब ७० लाख सङ्कलन भइसकेको छ । उनले गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन प्लान्ट स्थापना गर्ने अभियान अगाडि बढाएको बताए।
चौँरीदेउराली–५ स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्लान्ट बनाउन लागिएको हो ।अहिले सो प्लान्टको निर्माणका लागि रु एक करोड ३७ लाखमा ठेक्का आह्वान भइसकेको र सम्झौतापछिको दुई महिनाभित्रमा निर्माण भइसक्ने उनले बताए । प्लान्टबाट दैनिक २५ देखि ३० सम्म सिलिन्डर भर्न सकिने जनाइएको छ ।
गाउँपालिकाले गरेको आग्रहअनुसार अहिले सहयोगीदाताबाट रकम जम्मा हुने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले एनसीसी बैंकमा रहेको ग.५.१ स्थानीय तह विविध कोषको खाता नं १४४०००००२६३०१ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ । सहयोग गर्ने दाताको नाम शिलालेखमा जनाइने गाउँपालिकाले जनाएको छ ।