बागमती प्रदेशसभाका एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी राजेका छन् ।
उनीहरूले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गर्दै सनाखत गरेका छन् ।
समाजवादीमा लागि सनाखत गर्नेमा सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेका छन् ।
योसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद संकटमा परेको छ । बागमती प्रदेशसभामा यसअघि एमालेका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै शाक्यको सरकार अल्पमतमा परेको हाे ।
योसँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।
निर्वाचन आयोगले दल रोज्नका लागि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्मको समय दिएको छ ।