नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) मा लागेका हुन् । सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस) मा सनाखत गर्न लागेका हुन् ।
सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।
सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् । तीमध्ये १३ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेपछि केपी ओली नेतृत्वको नेकपा एमालेलाई धक्का लागेको छ ।
दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।