नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १० जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा (एस) मा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।
भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तमाङ र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि नेकपा(एस)मा सनाखत गर्ने मन्त्री जोशीले जानकारी दिइन् ।
सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् । तीमध्ये १३ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेपछि केपी ओली नेतृत्वको नेकपा एमालेलाई धक्का लागेको छ ।
दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।
सम्बन्धित समाचारः सुदूरपश्चिममा ओलीलाई धक्का, आधा बढी सांसद माधव नेपालको पार्टीमा