होटल सङ्घ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर होटल अति प्रभावित होटल उद्योगलाई संरक्षण गर्न माग गरेको छ।
सङ्घका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएको टोलीले होटल उद्योगले भोगिरहेको समस्याबारे अर्थमन्त्रीलाई अवगत गराउँदै उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गरेको हो।
सङ्घको सुझावपत्र ग्रहग गर्दै अर्थमन्त्री शर्माले कोभिड– १९ बाट पर्यटन तथा होटल उद्योग अतिप्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सङ्घले विज्ञप्तिमार्फत जनाएको छ।
सङ्घका अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेषगरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताए। उनले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषय यथाशीघ्र कार्यान्वयनका लागि आग्रहसमेत गरे।
होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११ (३) को परिभाषामा समेत राखी कार्यान्वयन गरिदिन सङ्घले अनुरोध गरेको छ। होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरहको विद्युत् महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने माग गरिएको छ।