जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारेका छन् ।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा अध्यक्ष यादवले सो कुरा बताएका हुन् । यादवले ठाकुर आफ्नो खुट्टामा उभिन नसकेको र प्रयोग भइरहेको आरोप लगाउँदै त्यस्तासँग कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारेका हुन् ।
उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको, भदौ २२ गतेपछि मन्त्रिपरिषद् विस्तार हुने र त्यसमा जसपा सहभागी हुने बताए ।
आफू निकट प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोसपामा जान थालेपछि यादव जनकपुर आएका हुन् ।
बुधबार १० प्रदेशसभा सदस्यले लोसपामा सनाखत गरेका थिए । बिहीबार प्रदेशसभा सदस्य डिम्पल झा र प्रलाद गिरीले जसपा छाडेर लोसपामा सनाखत गरेको बताइएको छ ।
तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए ।