वैचारिक मतभिन्नताको उत्कर्षमा रहेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले डाकेको बेग्लाबेग्लै केन्द्रीय समिति बैठक चलिरहेको छ ।
संयोजक पाण्डेले डाकेको बैठक बिहान ११ बजेदेखि चलिरहेको छ भने अध्यक्ष मिश्रले ठाकेको बैठक जारी छ । दुवै पक्षको बैठक भर्चुअल रुपमा चलिरहेका छन् ।
केही साताअघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहित राजनीतिक दस्तावेज ल्याएपछि अहिले विवेकशील साझामा चरम वैचारिक मतभिन्नता देखिएको हो ।
मिश्रको दस्तावेजलाई काउन्टर दिन पाण्डे पक्षले पनि एउटा दस्तावेज सार्वजनिक गरेको थियो । जसमा पाण्डे पक्षले मिश्रको दस्तावेजलाई ‘उल्टो बाटो’ को संज्ञा दिएको थियो ।
अध्यक्ष मिश्रले आफूलाई जानकारी नै नदिई केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेपछि संयोजक पाण्डेले त्यसको विरोध गरेका थिए । पाण्डेले मिश्रलाई बैठक स्थगित गरी पार्टी फुट्नबाट रोक्नसमेत अनुरोध गरेका थिए ।
तर, मिश्रले आफ्नो अनुरोध नमानेपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका थिए । जारी दुबै पक्षका बैठकले के निर्णय गर्लान् भन्ने विषयलाई सबैले चासोको रुपमा लिएका छन् ।