भदौ २२ पछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।
यसअघि एमाले विभाजन गरेका माधवकुमार नेपालको दल दर्ता भएलगत्तै मन्त्रिमण्डल विस्तार गर्ने तयारी थियो । त्यसपछि मन्त्रिमण्डल विस्तारबारे छलफल तीव्र भएको थियो ।
त्यसका लागि सत्तारुढ गठबन्धनका नेताबीच विभिन्न चरणमा छलफल भएका थिए । छलफलमा सहभागी नेताहरूले बुधबार वा बिहीबारसम्म मन्त्रिमण्डल विस्तार हुने दाबी गर्दै आएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुँदै आएको थियो ।
यसबीचमा भएका छलफलमा कुनै सहमति हुन सकेन । मुख्य रुपमा कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा सत्तारुढ गठबन्धनका नेताबीच सहमति हुन नसकेको बताइएको छ ।
त्यस्तै, नेपालको दर्ता रोज्नका लागि सांसद तथा जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय निर्वाचन आयोगले दिएको छ । उक्त समयमा थप सांसद आफ्नो पक्षमा आउन सक्ने आशामा रहेका नेपालले मन्त्रिमण्डल विस्तार २२ गतेपछि गर्न प्रस्ताव राखेका थिए । उक्त प्रस्तावपछि मन्त्रिमण्डल विस्तार भदौ २२ गतेपछि मात्रै गर्नेमा सत्तारुढ गठबन्धनका शिर्ष नेतारू सहमतिमा पुगेका हुन् । नेपालका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।
बिहीबार नेकपा (एस) को संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै नेपालले स्पष्ट भनिसकेका छन्, ‘भदौ २२ गतेसम्म मन्त्रिमण्डल विस्तारका विषयमा कसैले चुँ पनि गर्दैन ।’
सो अवसरमा नेता नेपालले आफू नेतृत्वको पार्टीमा आउन पार्टी पंक्तिमा आव्हान पनि गरे ।
बिहीबार जनकपुर पुगेका जसपा अध्यक्ष यादवले पनि भदौ २२ गतेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको, भदौ २२ गतेपछि मन्त्रिपरिषद् विस्तार हुने र त्यसमा जसपा सहभागी हुने बताएका थिए ।
आलोचना
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
नेपालका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदा प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । तर, देउवा भने सरकार गठनमा गरेको सहयोग सम्झँदै नेपालले भने अनुसार गरिरहेका छन् ।
हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।