निष्पट्ट अँध्यारो मञ्चमा सारंगीको मधुर तर कारुणिक लय सुनिन्छ। एकैछिनमा सारंगीको कारुणिक धुनमा कोही हिँडेको आवाज मिसिन्छ, टक्टक्।
त्यसपछि मञ्चमा माथिदेखि तलसम्म कालो बस्त्र धारण गरेकी, ठुटो कपाल भएकी एक युवती देखा पर्छे। युवती मञ्चको बीच भागमा राखिएको एउटा कुर्सीमा बस्छे। कुर्सीमा बसेर आफ्ना अगाडि रहेको माइक मिलाउँछे र लामो सास फेर्दै कारुणिक आवाजमा भन्न थाल्छे....
टिनको, खरको, कंक्रिटको, छानो भएको घरभन्दा अगाडि
मेरो कोख तिम्रो घर थियो
अहंकारले फुल्ने तिम्रो छातीमा पहिलो श्वास त्यही भरेको हुँ...
सारंगी अझै कारुणिय भएर बज्न थाल्छ। सारंगीसँगै युवतीको वेदनामा साथ दिन बाँसुरी पनि कारुणिय लयमा अलाप्न थाल्छ। युवती भन्दै जान्छे....
क्रुर तिम्रा पञ्जाहरुको भाग्यरेखा त्यही कोरेकी हुँ
तिमीले हेर्ने आँखा, तिमी उभिने मेरोदण्ड
र
तिम्रा पुरुषार्थका प्रत्येक अंग त्यही भित्र हुर्किएका हुन्...
युवती अझ भावुक हुँदै आफ्नो वेदना पोख्दै जान्छिन्...
प्रिय पाठक, माथि वर्णित परिवेश र त्यस परिवेशमा युवतीले अलापेका शब्दहरु सुनेर तपाईंले पक्कै पनि अनुमान गरिसक्नुभयो होला, युवतीले के र कसलाई भनिरहेकी छन् भनेर।
हो, तपाईंले अनुमान गरेजस्तै ती युवतीले आफ्ना शब्दमार्फत महिलामाथि हुने हिंसा र बलात्कार र ती सबैमा संलग्न हुने पुरुष जातीलाई इंगित गरेकी हुन्। र, कालो बस्त्रधारी र ठुटो कपाल भएकी ती युवती हुन्, नायिका केकी अधिकारी।
सधैँ म्युजिक भिडियो र सिनेमामा देखिने अधिकारी यसपल्ट सम्पूर्ण दर्शकहरुलाई आश्चर्यचकित तुल्याउँदै फरक भूमिकामा देखिएकी छन्। उनी यसपालि महिलामाथि हुने सम्पूर्ण किसिमका हिंसाविरुद्ध सशक्त रुपमा प्रस्तुत भएकी छन्, कविता मार्फत।
‘ए पुरुष’ शीर्षकको यो कविता उनी आफैंले लेखेकी हुन्।
बुधबार अधिकारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको प्रस्तुति कुञ्च थिएटरमा छायांकन गरिएको हो भने यसलाई निर्देशन स्रद्धा प्रसाईंले गरेकी हुन्।
अधिकारीले यो कविता हरेक दिन महिला हिंसा खेपिरहेका र यसविरुद्ध लडिँरहेका पीडित तथा अभियन्ताहरुलाई समर्पित गरेकी छन्।
उनले भनेकी छन्, ‘माफ गर्नुहोला, हामी एउटा असल समाज र राष्ट्र बनाउनमा सधैँ चुकिरह्यौँ। सबैभन्दा धेरै मानव हुन सधैँ चुकिरह्यौँ’, महिला हिंसा, बलात्कार र बलात्कारपछि हत्यामा संलग्न पुरुषलाई उनले भनेकी छन्–
ए पुरुष,
म नारी हुँ!
म नारी हुँ!
नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो’...
हेर्नुहोस् पूरा कविताः