विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको बैठकले अवैध र समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।
बिहीबार बसेको अध्यक्ष मिश्र पक्षको बैठकले अवैध र समानान्तर गतिविधि तत्काल नरोकिए आवश्यक कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको प्रवक्ता शरदराज पाठकले विज्ञप्ति नारी गर्दै जानकारी दिएका छन् ।
वैचारिक मतभिन्नताको उत्कर्षमा रहेको विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै केन्द्रीय समिति बैठक बोलाएका थिए ।
केही साताअघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहित राजनीतिक दस्तावेज ल्याएपछि अहिले विवेकशील साझामा चरम वैचारिक मतभिन्नता देखिएको हो ।
मिश्रको दस्तावेजलाई काउन्टर दिन पाण्डे पक्षले पनि एउटा दस्तावेज सार्वजनिक गरेको थियो । जसमा पाण्डे पक्षले मिश्रको दस्तावेजलाई ‘उल्टो बाटो’ को संज्ञा दिएको थियो ।
बिहीबार नै बसेको संयोजक पाण्डे पक्षको बैठकले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।