एकै परिवारका ५ सहित पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
शुक्रबार कुश्मा नगरपालिका–३ दुर्लुङको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो।
पहिरोमा शर्माकी ७५ वर्षकी आमा कौशिला, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको हो ।
यस्तै, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पाहुना आएका पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ । मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल वेपत्ता छन् ।
उता, पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
उद्धार र राहतमा लाग्न निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकारले विपद्मा निधन र बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति रु एक लाख सहयोग दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि रु १५ हजार, अस्थायी आवासका लागि रु २५ हजार र उपचार खर्च रु ५० हजारसम्म प्रदेश सरकारले दिन सक्ने कार्यविधिमा उल्लेख छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि प्रदेश सरकारबाट रकमसमेत पठाइसकेको बताइएको छ ।
मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए ।
उनले पहिराले सडकमा क्षति पुर्याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर सडक खुलाउन पनि भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिए ।