नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)मा सहभागी हुनका लागि उनले पार्टीबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा वामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तिखो आलोचना गरेका छन् ।
राजीनामा दिएको अर्को दिन ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गौतमको नाम उल्लेख नगरी विभिन्न आरोप लगाएका छन् ।
थापाले शनिबार लेखेको स्टाटसमा गौतमलाई अस्थिर राजनीतिज्ञको रुपमा उल्लेख गरिएको छ ।
थापाले गौतम एकैदिनमा तीनथरी कुरा गर्थे भन्दै अगाडि थपेका छन्, ‘बिहान घरबाट निस्किँदा नेकपा(माले)को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’
थापाले गौतमलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन् भनेका छन् । त्यसबारे उनले लेखेका छन्, ‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन् ।’
उनले गौतमलाई संकेत गर्दै प्रश्न गरेका छन्ः
२०५४–५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो ?
यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)को एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पुर्याएर आज स्वयं किनारा लाग्न पुगे ? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ? सही उत्तर मिलाउनुहोस ?