लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए । उनले भने, ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’
महतोले मधेसको जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए । उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताए ।