युवा अभियान्ता हेमराज थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा जेड सुमारलाई कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।
एमसीसीकी उपाध्यक्ष फातिमा केही दिनमा नेपाल आउन लागेका बेला अभियान्ता थापाले यस्तो चेतावनी दिएका हुन् ।
सरकारले मित्र राष्ट्रसँग सम्बन्धमा आँच आउने गतविधि गरेमा कारवाही गर्ने चेतावनी दिएपछि थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभु नेपाल आउँदैछन् । अनि यो बेला एमसीसीको विरोध गरे हामीलाइ गिरफ्तार गरेर जेल हाल्ने रे ! एमसीसी उपाध्यक्ष फतिमालाई कालो झण्डा देखाउने हो । हिम्मत भए गिरफ्तार गर सरकार ।’
केहीदिनमै नेपाल आउन लागेकी उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।
नेपालले २०१७ मा नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । जसअनुसार नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि नेपालले करिब ६० अर्ब रुपैयाँ (नेपाली रकम) पाउनेछ । तर, उक्त परियोजनाको नेपालमा तीव्र विरोध हुँदै आएको छ । राजनीतिक दलबीच पनि सहमति हुन सकेको छैन ।
हालै एमसीसी उपाध्यक्षमा नियुक्त भएकी सुमारको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।