नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुने हुँदैछ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ ।
एमाले अध्यक्ष ओली आफैं सर्वोच्च अदालत उपस्थित भएर निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।
यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
शाक्यरले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक घिसिङलाई विपक्षी बनाइएको छ ।