भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयले आपत्ति जनाएको छ ।
आइतबार मन्त्रालयका प्रवक्ता फणिन्द्रराज पोखरेलले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’
मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ । विज्ञप्तिमा मित्र राष्ट्रविरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी दिइएको छ ।
जयसिंह धामीको हत्यारालाई कारवाही गर्नुपर्ने र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको भन्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको थियो ।
यसअघि एमसीसीको विरोध गर्दै अमेरिकी राजदूतावास अगाडि प्रदर्शन भएपछि सरकारले त्यस्तो गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।