रेडियम व्यान्ड बिर्तामोडका गायक तथा गितारिष्ट राजु चौधरीको उपचारका लागि विभिन्न व्याण्डहरु जुटेका छन्। वोनम्यारो क्यान्सर पीडित चौधरीको उपचारका निम्ति झापाका स्थानीय व्याण्डहरुले विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिइरहेका छन्।
यसै क्रममा ‘द स्याडोज नेपाल’ का अगुवा स्वप्लिन शर्मा र ‘अनुप्रस्थ’ का अगुवा निरन शाही पनि चन्दा संकलनका लागि झापा पुगेका छन्। दुवैले शनिबार काकडभिट्टा र बिर्तामोडमा त्यहाँका स्थानीय व्यान्डहरुसँग सहकार्य गरी स्ट्रिट कन्सर्ट गरे।
उनीहरुले आज पनि दमकमा प्रस्तुति दिए।
स्वप्निल र निरन चन्दा संकलनमा मुख्य भूमिका निर्वाह गरिरहेका छन्। उनीहरुले दुई सातादेखि सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सहयोगको अपिल गरिरहेका छन्।
यस दौरानमा शाहीको बैंक र इसेवा खातामा करिब २० लाख र शर्माको खातामा करिब ४ लाख रुपैयाँ जम्मा भएको छ।
‘मलाई लाग्छ, पैसा नभएकै कारण कसैको पनि मृत्यु हुनु हुँदैन। हामी सबैको बाँच्ने अधिकार छ’, सांगीतिक प्रस्तुतीमार्फत चन्दा संकलन गर्न शनिबार बिहान झापा पुगेका निरनले नेपाली पब्लिकसँग भने, ‘म आफू पनि म्युजिक फिल्डमा भएकाले उनको पीडालाई अझ नजिकबाट महसुस गरेको छु।’
उनले अगाडि भने, ‘राजुलाई जोगाउन म सबैलाई आफूले सकेको सहयोग गर्न अनुरोध गदर्छ। हामीहरुको सानो सहयोगले उनी बाँच्नेछन्।’
निरन आफूले चौधरीलाई सात महिनाअगाडि झापामा अवस्थित उनकै म्युजिक स्कुलमा भेटेका सम्झिए। चौधरी एकदमै सम्भावना भएका मेधावी भोकलिस्ट भएको बताउँछन् उनी।
अहिले चौधरीको न्यु दिल्लीस्थित बिएल कपुर अस्पतालमा उपचार भइरहेको छ। चौधरीलाई उनका दाजुले वोनम्यारो दिने भएका छन्। दाजुको वोनम्यारो उनीसँग मिल्ने–नमिल्ने बुझ्न दाजुको वोनम्यारो परीक्षणको क्रममा रहेको शाहीले जानकारी दिए। ‘म्याच हुनेबित्तिकै उनको उपचार अगाडि बढ्छ’, उनले भने।
चौधरीको उपचारका लागि ५० लाख बढी आवश्यक पर्नेछ। तीन साताअघि विराटनगरमा उपचारको क्रममा उनमा क्यान्सर पुष्टि भएको थियो। क्यान्सर पुष्टि भएपछि उनलाई बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो।
अन्ततः काठमाडौंमा पनि उपचार सम्भव नभएपछि उनलाई तीन दिनअघि दिल्लीस्थित बिएल कपुर अस्पतालमा लगिएको छ। त्यहाँ उनको उपचार भइरहेको छ।
उनको बिर्तामोडस्थित सनराइज बैंकको खाता नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ। त्यस्तै, उनलाई स्वप्निल र निरनको बैंंक तथा इसेवा खाता मार्फत पनि सहयोग गर्न सकिनेछ।
A/C Name: Niran Shahi, A/C Number: 00708164SA
Bank Name: Prime Bank, Balaju
Esewa: 9841424137
A/C Name: Swapnil Sharma, A/C Number: T902010000002
Bank Name: Global IME Bank, Banasthali
Esewa: 9808195081
राजुको उपचारका लागि डा। सन्दीप श्रेष्ठ र उनकी श्रीमतीले आफ्नी छोरी सियोनाको नामबाट १५ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, ‘पहेँलो बत्ती मुनी’ व्यान्डले हालै ‘नुडल्स’ मार्फत रिलिज गरेको ‘म बाटो हिँडेझैँ’ बोलको गीतबाट प्राप्त हुने आधा रकम चौधरीको उपचारका निम्ति सहयोग गर्ने बताएको छ।