नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि एक महिना नपुग्दै दुई पटक भारत गए।
पहिलो पटक साउन १३ गते भारत पुगेका निधि त्यसको एक महिना नपुग्दै दोस्रो पटक भदौ ३ गते फेरि भारत गए।
उनको सचिवालयले पहिलो पटक पारिवारिक भेटघाट र दोस्रो पटक कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न भारत गएको स्पष्टिकरण दिएको छ।
तर, सचिवालयले दिएको स्पष्टिकरण जस्तो उनको भारत भ्रमण भने थिएन। कांग्रेस सभापतिमा दाबी गर्दै उम्मेदवारी घोषणा गरिसकेका निधिको भ्रमण ‘राजनीतिक’ रहेको स्रोतको दाबी छ।
उनले कांग्रेस महाधिवेशनको तयारी सुरु हुनै लाग्दा आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका थिए। सभापतिमा दिल्लीको समर्थन खोज्न निधिको भारत भ्रमण केन्द्रित रहेको कांग्रेस निकट स्रोतको दाबी छ। भारत गएका बेला निधि दिल्ली पुगेको र त्यहाँ भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग भेटघाट गरेका थिए।
‘पार्टीको महाधिवेशनको तयारी र क्रियाशील सदस्यतासम्बन्धी विवाद चलिरहेको थियो। उक्त विवाद समाधानका लागि पदाधिकारी बैठक जारी थियो’, कांग्रेस निकट स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा पारिवारिक भेटघाट भन्दै उपसभापति निधिज्यू दिल्ली पुगे भनेर कसरी पत्याउने?’
भारतलाई रिझाउँदै
कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ गतेदेखि १३ सम्म काठमाडौंमा हुँदैछ। पहिलेदेखि नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका निधिले सम्पर्क कार्यालय नै खालिसकेका छन्।
उनले भदौ ११ गते सम्पर्क कार्यालय उद्घाटन गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन्। पछिल्लो समय सभापति बन्न दौडधुप बढाएका निधिले प्रचार प्रसार शैलीमा पनि भारतीय सत्तारुढ दल भाजपालाई रिझाउन खोजेको प्रष्ट देखिन्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा धार्मिक कार्यक्रमसहित निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दा भारतको सत्तारुढ दल भाजपालाई रिझाउन खोजेको प्रष्टै देखिन्थ्यो।
उक्त कार्यक्रममा निधिले जानकी मन्दिरका महन्थ तपेश्वर महाराज, पशुपतिनाथ मन्दिरका पुजारी प्रतिनिधि समेतलाई बोलाएका थिए।
कार्यक्रममा भारतलाई रिझाउन निधिले मोदीको शैली मात्रै अपनाएनन्, हिन्दु राष्ट्रको एजेण्डा उठाउन पनि आफू तयार रहेको स्पष्ट सन्देश दिएका छन्।
चौथाइवालेसँग विशेष भेट
निधिले भदौ ९ गते भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि भेट गरेका थिए। अन्य पार्टीका शीर्ष नेताहरूलाई मात्रै भेट्दा चौथाइवालेले भने निधिसँग पनि भेटघाट गरेका थिए।
‘सभापति बन्न भारतको समर्थन खोज्दै दौडधुप गरिरहेका निधिले चौथाइवालेसँग विशेष भेटघाट गरेका हुन्। उक्त छलफलमा निधिले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए’, उनीनिकट स्रोतले बतायो।
‘पर्ख र हेर’को स्थितिमा भारत
निधि सभापति बन्न भारतको सहयोग खोजी रहेका छन्। तर, भारत भने ‘पर्ख र हेर’को स्थितिमा छ।
भारत मामिलाका एकजना जानकार निधिले मात्रै नभएर कांग्रेस सभापतिका अन्य आकांक्षीले पनि भारतलाई गुहारिरहेको दाबी गरे।
उनी भन्छन्, ‘सबै आकांक्षीले आफूलाई सहयोग गर्न भारतसँग गुहार माग्दै छन्। तर, भारतले अहिलेसम्म कसलाई सहयोग गर्ने स्पष्ट पारिरहेको छैन। यसपटक जसले सभापतिमा जित्यो त्यसैलाई सहयोग गर्ने मुडमा भारत छ जस्तो लाग्छ।’