जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् ।
यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताए ।
जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकबाट विद्यालय सञ्चालन गरिएको शाखा प्रमुख धितालले जानकारी दिए । स्थानीय तहको निर्णयअनुसार भदौ १५ गतेदेखि विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए।
यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखले कोरोना महामारीका बिचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखाले एक हप्ताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय गरेको बताए ।बैठकमा शिक्षा शाखा प्रमुखले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । कोभिडले गर्दा विद्यालय बन्द हुदाँ यहाँका धेरैजसो विद्यार्थी मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव आएको प्रजिअ प्र्रसाईले बताए।