नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने बताएका छन् ।
कास्की एमालेले मंगलबार पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्ताको तस्तै चार वर्ष अगाडि फर्किन नसकिने बताएका हुन् ।
ओलीले १० बुँदे सहमति समस्या खडा गर्न नभएर समाधज गर्न बनेको भन्दै जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गरिने बताए ।
‘१० बुँदे भन्ने छ अहिले । १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के ? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न । त्यही हो १० बुँदे’, उनले भने, ‘जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि ।’
माओवादी केन्द्रबाट आएका नेताहरू एमालेमा रहेकोका कारण १० बुँदे सहमतिलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने उनले स्पष्ट पारे ।
ओलीले आगामी चुनावमा एमाले देशको पहिलो दल बन्ने दाबी गरे । उनले कार्यकर्तालाई एक ढिक्का भएर काम गर्न अनुरोध समेत गरे ।
ओलीले पार्टी फोडेर जाने माधव नेपाललाई इंकित गर्दै कसैले पार्टी छोडेर जाँदैमा नेकपा एमाले नडगमगाउने बताए ।
उनले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाए । उनले भने, ‘दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा भारतले अनधिकृत रूपमा हेलिकोप्टर उडाइएको विषयमा सरकार निदाएर बसेको र देश समस्यामा गइरहेको बेला पनि सरकार चुप लागेर बस्नु दुर्भाग्यपूर्ण हो ।’
हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको उनको आरोप थियो ।