पपुवा न्यूगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय मैत्रीपूर्ण म्याचमा नेपाल २ विकेटले विजयी भएको छ ।
पीएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ब्याटिङमार्फत् रोहितकुमार पौडेल र सोमपाल कामीले महत्वपूर्ण योगदान दिए । रोहितले ६५ बलमा ४१ र सोमपालले ३२ बलमा २२ रन बनाए ।
८२–७ को अवस्थामा रोहित र सोमपालले टिमको पारी सम्हालेका थिए । त्यस्तै, कुशल भुर्तेलले १५, आशिफ शेखले ३०, कप्तान ज्ञानेन्द्र मल्लले ६, आरिफ शेखले ९, शरद भेषवाकरले ६, कुशल मल्लले एक रन बनाए । पवन सराफ भने शून्यमै आउट भए ।
बलिङमा गौड टोकले तीन, डेमियन रावु, चाड सोपरले दुई/दुई र नौसेना पोकानाले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १ सय ३४ रनमै अलआउट भएको थियो ।
उसका लागि लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३, गौडी टोकले २२, विकेटकीपर किल्पिन डोरिगाले १५, ससेस बउले १४ र चाड सोपरले अविजित १७ रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । त्यस्तै, कुशल मल्ल, विक्रम सोबले दुई/दुई र सोमपाल कामीले एक विकेट हात पारे ।
नेपाल र पीएनजीबीचको दोस्रो वानडे म्याच बिहीबार हुनेछ । त्यसपछि नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ ।