अस्ट्रेलियाको केन्द्रीय सरकारले आगामी अक्टोबरदेखि विदेश जानेका लागि ‘अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट’ वितरण गर्ने तयारी गरेको छ। केन्द्रीय सरकारले विदेश यात्राको तयारीस्वरूप उक्त व्यवस्था लागू गर्न लागेको हो।
भ्याक्सीन पासपोर्टले मानिसलाई आफ्नो खोपको स्थिति अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न सहयोग गर्ने सरकाले जनाएको छ। तर अस्ट्रेलिया फर्कने क्रममा मानिसहरूले खोपका दुवै मात्रा लगाइसकेको प्रमाणित गरे पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता कायमै रहने छ।
सरकारले अस्ट्रेलियाबाट मानिसहरू अन्य देश कहिलेदेखि जान पाउँछन् भन्नेबारे कुनै स्पष्ट मिति नतोके पनि अक्टोबरदेखि यो प्रावधान सुरु हुने बताएको छ।
प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाएका मानिसहरूलाई विशेष सुविधा उपलब्ध गराउने भन्दै यस्तो योजना ल्याउन लागेको बताएका छन्।
‘खोप लगाउने नागरिकमा जोखिम कम हुनाले यो आवश्यक छ, यसले संक्रमित हुनबाट बचाउँछ र संक्रमण हुने खतरावाट पनि बचाउँछ’, उनले भने।
कोरोना भाइरसविरूद्ध अष्ट्रेलियाले तय गरेको नीति अनुरूप तेस्रो चरणमा प्रवेश गरेको हुनाले स्वदेश फर्कन चाहने खोप लगाइसकेका अस्ट्रेलियन नागरिकका लागि कुनै सिमासमेत तोकिने छैन।