एमसिसि परियोजनाबारे प्रगती बुझ्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)की उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी छन्।
नेपालको चारदिने भ्रमणका लागि उनी केहीबेरअघि कतार हुँदै काठमाडौं आइपुगेकी हुन्। नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।
उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ।