अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।
चार दिने औपचारिक भ्रमणका लागि फतिमा नेपाल आएकी हुन् । नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि फतिमाको साथमा नेपाल आएका छन् ।
उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ः२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
फतिमालाई अमेरिकी दूतावास र नेपालस्थित एमसिसी कार्यालयका अधिकारीहरूले स्वागत गरे ।
फतिमाको भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरिट होटेल गएकी छन् ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
आजै काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमाको टोलीले प्रधानमन्त्रीलाई भन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्ने भएका छन् ।
अमेरिकी दूतावास स्रोतका अनुसार दिउँसो एमाले अध्यक्ष ओलीबाट राजनीतिक भेटवार्ता सुरु हुनेछ ।
एमाले अध्यक्ष ओलीसँगको भेटपछि टोली एमसीसीको कार्यालय दरबारमार्ग फर्किने तालिका छ । त्यसपछि टोली होटल मेरियटमा जाने र भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
त्यसपछी बाँकी राजनीतिक भेटघाट शुक्रबार हुनेछ। शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेतासँग भेटघाट गर्ने तालिका छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता हुने बताइएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो ।
यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।