पोखरा– “ओहो! तीज आउनुभन्दा महिना दिन अघिदेखि माइत जाने हुटहुटी हुन्थ्यो। माइतीबाट लिन को आउनुहोला भनेर मनमा बेग्लै उत्साह हुन्थ्यो। घरको काम पनि कति छिटो–छिटो गरिन्थ्यो त्यतिबेला”, पोखरा महानगरपालिका–६ की ७३ वर्षीया जसोदा पराजुली आफ्नो समयको तीजलाई स्मरण गर्दै भन्छिन्।
पराजुली ११ वर्षको उमेरमा ४५ वर्षका पुरुषसँग वैवाहिक सम्बन्धमा जोडिइन्। तर उनको उमेर २५ वर्ष हुँदै श्रीमान्को निधन भयो। उतिबेला उमेरभन्दा पनि सम्पत्ति र इज्जत हेरेर विवाह गर्ने चलन भएको उनी बताउँछिन्।
उनको माइती स्याङ्जा सेतीखोला। सात दिदीबहिनी, दुई दाजुभाइमध्ये साइली छोरी पराजुली तीज सम्झँदै भन्छिन्, “धेरै दिदीबहिनी थियौँ, दाजुभाइ विदेश थिए, बाबाले लिन आउन सबैलाई भ्याउनु हुँदैनथ्यो अनि मान्छे खोजेर कृष्णाष्टमीदेखि पालैपालै सबै दिदीबहिनीलाई लिन पठाउनुहुन्थ्यो। फेरि उबेला तीजमा लिन नआइ माइत जाने चलन पनि थिएन।”
पराजुली थप्छिन्, “माइत पुगेर कहिले मनमा भएको पीर पोखम्ला। आमाले पकाएको दर खाम्ला भनेर मन त्यसै रमाउँथ्यो।” तीजमा खाने दरबारे उनी भन्छिन्, “तामा गाभा, घिरौँला, चिचिन्डा काँक्राको अचार हुन्थ्यो। औँसीपछि जुठो हुन्छ भनेर मासु खाइँदैनथ्यो। अनदी र झिनुवाको चामल छड्को चलेपछि छोप्ने बेला भएमा मगमग बसाउँथ्यो। आरीमा चामल भिजाएर, कसौडीमा घिउ राखेर चामल ओइरिएर फरक्क–फरक्क भुटेर छोप्दै पकाउँदै गरी तयार पारेको भातको स्वाद आजभोलि कहाँ पाउनु?”, उनी सम्झिन्छिन्। त्यसरी पकाएको खानेकुरालाई पिँढीमा सबै जम्मा भएर आमाले पकाएको खाजा बरिलै भन्दै खाँदै नाच्दै गरेको स्मरण गरिन्। “रातिको १२ बजेसम्म पनि दर भनेर खिर खाइन्थ्यो र भोलिपल्ट हरितालिका पूजा गर्ने भएकाले पूरा निराहार बसिन्थ्यो।”
व्रतको भोलिपल्ट बिहान पार्वतीको पूजा गरेर हलोले जोतेको खाने भनेर एक छाक चोखो खान खाने चलन थियो। खोला पँधेरामा बिहानै पञ्चमी स्नान गरेर पूजा गर्दाका बिर्सन नसक्ने क्षण पनि उनीसँग छन्। “वर्ष दिनको घरको दुःख पीडा माइती पुगेर साथीसङ्गीसँग बसेर पोख्दाको आनन्द बेग्लै हुन्थ्यो। कसका कति छोराछोरी भए, घरकाले कति माया गर्छन्, श्रीमान् कस्ता छन् भन्ने कुरा साथीसँग साट्थ्यौँ, कसैले सुखका कुरा गर्थे, कसैले घरमा पाएको दुःख सम्झँदै भक्कानिन्थे”, उनी सम्झिन्छिन्, “छोरीको कर्म यस्तै हो भन्दै मन बुझाउँदै नाचगान गथ्र्यौँ, दुःख भुल्थ्यौँ।”
उनले अहिलेजस्तो आमा औँसी, बा औँसी भन्ने त्यस समयमा चलन पनि नभएको र तीज मात्र माइत जाने एउटा अवसर रहेको बताइन्।
त्यस समयमा खोलामा पुल नहुँदा, यातायातको सुविधा नहुँदा, खोला तरेर आउनुपर्दा र लगातार पर्ने झरीले मन अमिलो बनाउने गरेका अनुभव पनि छन्। पञ्चमीको भोलिपल्ट माइतबाट घर आउँदा कोसेली लिएर आउनुपथ्र्यो, कुराउनी र रोटी बोकेर सबैलाई दिँदै ढोग्नुपर्ने चलन रहेको पनि उहले सुनाइन्। विवाहपछि लेकसाइडवासी बन्नुभएकी पराजुली उतिबेला माइत जाँदा गाएको गीत यसरी स्मरण गर्छिन्ः
“झिनुवा खाजा दुनामा राखी, ढिकुर चरीले खाला भनेर”
“तालपारिको पाइमा दिनुभयो बाबा, बैदामे तालले लाला भनेर”
“ढलाकी आमे कतले माछा, सुलुक्क आउने चुचे बाम”
“बैदामे तालको ढलफलाउँदा ङुङ्गा, ढलक्कै ढल्के मोरिजाम”
बागलुङ नगरापालिका–३ की ६५ वर्षीया बालकुमारी पौडेल तत्कालीन समयमा सानै उमेरमा विवाह हुने र माइतीसँग भेट हुने पर्वको रूपमा तीज महत्वपूर्ण चाडको रूपमा रहेको बताउँछिन्। “विवाह भनेको के हो भन्ने नै थाहा नभएको समयमा सात वर्षको उमेरमा २६ वर्षको पुरुषसँग विवाह भएको त्यो कठिन समयमा माइत जान पाउँदा निकै खुशी लाग्थ्यो”, उनले सुनाइन्। सानैमा बुवाआमा गुमाएर आमाबुवाको मायाममताबाट टाढिनुपर्दाको त्यो क्षण र दाजु लिन आउँदा दाजुको बुइँ चढेर माइत आएको क्षणहरु अहिले पनि उहाँलाई झल्झली याद आउँछ। “म आफू सानो हुँदा मिठो खाने पर्वको रुपमा र उमेर बढ्दै जाँदा दुःख बिसाउने पर्वको रूपमा मनाउन बुझ्न थालेँ, कति तीजमा माइत जान पाइएन सासूले चाम्रे पकाएर खुवाएका याद छ।” तीजमा गाउँघरका दिदीबहिनी जम्मा हुने नाच्दै गाउँदै नजिकका मठमन्दिर पूजा गर्ने र खुला चौरमा गएर रातो पहिरन लगाएर नाच्ने गरेको बताउँदै त्यतिबेला गाउने गीतको भाका सुनाइन्ः
“शिर लाउने शिरफूल कालिकालाई चढाउँला,
रक्षे गर कालिका तिम्रो सेवा हाम्ले गराउँला”
“बाबाजिका दैला मुनि गुर्दौली फूल फुल्यो,
टिपौँ केरे बरिलै सुनको थालीमा”
“धर्मकर्म गरदियौँ त स्वर्ग लोक तर्दियौ,
भूल्यौ केरे संसार मयाजालैमा”
उहाँले त्यस समय पुरुषले बहुविवाह गरेर सौता सौता नबोल्दा पनि गीतबाट बोलचालको प्रयास गरिने सन्दर्भको गीत पनि यसरी सुनाइन्ः
“प्रभुलाई लायो सकसको व्यथा,
बोलन दिदी रामै राम” (बहिनी)
“शिरमा सिन्दुर लाइन, पाउको जल खाइन,
बोल्दिन बहिनी रामै राम” (दिदी)।
तत्कालीन समयमा विभिन्न ठाउँका तीज गीत गाएर रातो अविर र पुरस्कार पाएको पल पनि उनले स्मरण गरिन्। “नयाँ लुगा लगाउन र मिठो खान तीजलगायतका पर्वको पखाइमा रहनुपथ्र्यो, तीज कहिले आउला भने जस्तो हुन्थ्यो, अहिले त्यस्तो समय छैन, दर पनि टिकट काटेर पार्टी प्यालेसमा मनाउन थालिएको छ, तीजका गीत पनि सुन्नै नसकिने आउन थाले।” उनले चाडवाडहरु शहरमा भन्दा गाउँमा रमाइलो हुने बताइन्।
लोक भाका संरक्षण संवद्र्धन गर्दै विसं २०४५ देखि निरन्तर लोकगीत सङ्गीतको संरक्षणमा सक्रिय प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला तत्कालीन समयमा महिलाले घरपरिवारबाट भोग्नुपरेका दुःखपीडालाई माइतीको आँगनमा पुगेर गीतको माध्यमबाट पोख्ने गरेको बताइन्। उनका अनुसार उक्त समयमा पत्रपत्रिकार र रेडियोको पहुँच कम हुँदा तीजका गीतले सन्देश बाहकको काम गर्दथे, सामाजिक विकृति र विसङ्गति, राजनीतिक अवस्थालाई पनि तीज गीतबाट प्रस्तुत गर्ने चलन रहेको थियो। पछिल्लो समय गीत सङ्गीतमा केही फेरबदल आए पनि पर्व गीतको मौलिकतामा रहेर निस्केका धेरै गीतहरु ओझेमा परेकाले त्यसको प्रवद्र्धन संरक्षणमा चासो दिनुपर्ने उनको भनाइ छ।
अधिकारकर्मी विना सिलवाल परिवर्तित समयले तीजको महत्व र महिमामा केही फेरबदल आए पनि यस पर्वलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वको रुपमा मनाउनुपर्ने र भड्किलो प्रथालाई निरुत्साहित गर्नुपर्ने बताउँछिन्। “हिजो स्रोत साधन र प्रविधिको अभावमा एउटा महत्व बोकेर तीज पर्व मनाइन्थ्यो। अब अहिले स्रोत साधन र प्रविधिले धेरैलाई नजिक बनाएको छ। यसका सकारात्मक कुरालाई अवलम्बन गर्दै र महिलामाथिको विभेद र हिंसालाई प्रश्रय दिने कुरालाई हटाउँदै जानुपर्छ।”
धार्मिक सामाजिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेव श्रीमान् पाएको दिनलाई हिन्दु महिलाहरुले हरितालिका तीजको रुपमा मनाउँदै आएको पाइन्छ। भाद्र शुक्ला तृतीयाका दिन भगवान शिवको आराधाना गरेर नाचगान गरेर यो पर्व मनाउने परम्परा रही आएको छ।
जमुना वर्षा शर्मा/रासस