सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बिहीबार भेटवार्ता भएको छ ।
हात्तिवनस्थित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निजी निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको जानकारी जसपा अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले दिए ।
बिहीबार एमसीसीका प्रतिनिधिहरु समेत नेपाल आइसकेको अवस्थामा यसबारे कसरी साझा धारणा बनाउन वा टेबुल गर्न सकिन्छ भन्ने विषयमा सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको चौरासियाले बताए । एमसीसीका सम्बन्धमा काँग्रेसमा कुनै विवाद नरहे पनि सत्ता गठबन्धनका अन्य दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै ६० दिन पुग्न लाग्दा पनि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । मन्त्रीपरिषद् विस्तारलाई पनि छिटोभन्दा छिटो पूर्णता दिने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको हो ।
बैठकबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई भने कुनै जानकारी दिइएको थिएन ।