काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गरेको अभियोगमा प्रहरीले थापाथली क्याम्पसको क्यान्टिनबाट दुई जनालाई पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा निर्ग नवीन र कुमार बर्तौला रहेका छन्।
प्रहरीले उनीहरुलाई चिया पिइरहेको अवस्थामा पक्राउ गरेको कुरा सामाजिक अभियन्ता मनोज खतिवडाले आफ्नो फेसबुकमा लेखेका छन्।
‘थापाथली क्याम्पसको क्यान्टिनमा चिया पिइरहेको अवस्थामा प्रहरीले साथीहरु कुमार बर्तौला र निर्ग नवीनलाई पक्राउ गरेको सुचना आएको छ। केही साथीहरु प्रहरीको घेरा तोडेर बाहिर निस्किनुभएको छ। एमसीसीको शान्तिपूर्ण विरोध गरेका साथीहरु माथि भैरहेको धरपकड र ज्यादती बन्द गर। शान्तिपूर्ण विरोध गर्न पाउनु लोकतन्त्रको शौन्दर्य हो,’ खतिवडाले लेखेका छन्, ‘एमसीसीको विपक्षमा रहेकाहरुमाथि केही दिनयता व्यापक धरपकड भैरहेको छ, नियन्त्रणमा लिइएका साथीहरुमाथि दुर्ववहार भएका सुचना आएका छन्, निगरानी बढाइएको छ। साथै चौतर्फी असुरक्षा र त्रासको वातावरण निर्माण गरिएको छ। यस्तै हुन्छ लोकतन्त्ररु’
उहिले दुवै जनाको अवस्था अज्ञाता छ। प्रहरीले पक्राउ गरेर उनीहरुलाई कहाँ लग्यो भन्ने आफूलाई कुनै जानकारी नभएको खतिवडाले बताए।
निर्ग नवीन लामो समयदेखि एमसीसीको विरोध गर्दै आइरहेका छन्। गत वर्ष एमसीसीको विरोध गर्ने क्रममा उनको टाँउको गम्भीर चोट लागेको थियो।