प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा सीमा सुरक्षा, एमसीसीलगायत समग्र सुरक्षासँग सम्बन्धित विषयका बारेमा समीक्षा भएको बताइएको छ ।
पछिल्लो समय देशका विभिन्न स्थानमा एमसिसीलाई दिएर विरोध तथा प्रदर्शन भइरहेको छ । एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आएको अर्कोदिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसिसीका उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल आएकी थिइन् । उनले बिहीबारदेखि नै राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छन् ।
बैठक मुख्यतः एमसीसी विरोधलगायतका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
यो बैठक प्रधानसेनापति शर्माका लागि पहिलो हो । उनी यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त भएका थिए ।