नेकपा एमालेको अवरोधका बीच शुक्रबार संसद बैठक चलाइएको छ ।
शुक्रबार दिउँसो १ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदले नारावाजी गर्दै संसद बैठक अवरुद्ध गरेका थिए । एमालेको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गर्दै नारावाजी गरेपछि सभामुख सापकोटाले बैठक अगाडि बढाएका हुन् ।
नारावाजीकै बीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शमालाई आर्थिक अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । त्यसपछि अर्थमन्त्री शर्माले उक्त अध्यादेश पेस गरेको थिए । उक्त अध्यादेश पारित भएको छ ।
त्यस्तै, अर्थमनत्री शर्माले पेस गरेको राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पनि पास भएको छ ।
अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मा दौडिएर रोष्टममा पुगेका थिए । उनी अन्य अध्यादेश पेस गर्न रोष्टममै उभिएका छन् ।
सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सञ्चालनमा सघाउन आग्रह गर्दै आएका छन् । तर, एमालेको अवरोध रोकेको छैन ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।