पपुवा न्यूगिनी (पीएनजी) सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनले विजयी भएको छ ।
योसँगै नेपालले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
उसका लागि टोनी उराले १९, चाल्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बउले ११ र गौडी टोकले १० रन बनाउनुबाहेक बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा आज पनि सन्दीप लामिछाने चम्किँदै ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए । त्यस्तै, सुशान भारी, सोमपाल कामी र विक्रम सोबले एक/एक विकेट हात पारे ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ८६, करण केसीले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४५, विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल र आशिफ शेखले तीन–तीन रनको योगदान दिए ।
बलिङमा पीएनजीका चाड सोपरले सर्वाधिक तीन विकेट लिएका थिए ।
सिरिज
नेपालले अब आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिज खेल्ने छ ।
नेपालले सो सिरिजअन्तर्गत पहिलो खेल सोमबार अमेरिकाविरुद्ध खेल्ने छ ।