अस्ट्रेलियाको स्थानीय सरकारले विदेश यात्राका लागि आगामी अक्टोबरदेखि ‘अन्तर्राष्ट्रिय कोभिड पासपोर्ट’को व्यवस्था गर्ने तयारी गरेको छ।
अस्ट्रेलियाले यो व्यवस्था लागू गर्ने तयारी गरेसँगै अब त्यहाँका नागरिकहरुलाई अस्ट्रेलियाबाट बाहिर जान सहज हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले बताए।
‘अहिलेसम्म अस्ट्रेलिया प्रवेशमा मात्र होइन, त्यहाँबाट बाहिर जान पनि बन्देज गरिएको थियो। कसैलाई बाहिर जानुपरेको खण्डमा एकदमै झन्झटिलो प्रक्रिया अपनाउनुपथ्र्यो,’ इक्यान अध्यक्ष पाण्डेले भने, ‘यो व्यवस्था लागु भएपछि भने अस्ट्रेलियाबाट बाहिर जान एकदमै सहज हुनेछ।’
अस्ट्रेलियामा हालसम्म करिब ३५ प्रतिशत जनताहरुले मात्र कोरोनाको दुवै डोज खोप लगाएका छन्। तर, अबको डेढ महिनाभित्र यो संख्यालाई ७० प्रतिशत पुर्याउने अस्ट्रेलियाको लक्ष्य रहेको पाण्डेले जानकारी दिए।
‘७० प्रतिशत जनतालाई दुवै डोज दिइएपछि कोरोनाको जोखिम निकै कम भएर जान्छ। त्यसैले त्यहाँको सरकारले अगाामी अक्टोबरदेखि यो व्यवस्था लागु गर्ने भएको हो,’ उनले बताए।
यो व्यवस्थाले नेपाली विद्यार्थीहरुलाई पनि अस्ट्रेलिया प्रवेशमा सहजता हुन्छ भन्ने गलत बुझाई अहिले धेरै विद्यार्थी र अभिभावकमा पर्न गएको देखिन्छ। तर, यो सत्य भने होइन। हाललाई भ्याक्सिन पासपोर्ट व्यवस्थाले नेपाली विद्यार्थीहरुलाई कुनै पनि फाइदा नहुने उनले प्रष्ट पारे।
‘यो व्यवस्थाले हाललाई अस्ट्रेलियाबाट बाहिर जान चाहने नागरिकहरुलाई लाभ मिल्ने हो, बाहिरबाट त्यहाँ जानेलाई होइन,’ उनले भने, ‘यद्धपि यसले अबको केही महिनामा अस्ट्रेलिया प्रवेशमा पनि सहजता हुन सक्छ भन्ने संकेत दिन्छ।’
युनिभर्सिटी अफ साउथर्न क्रसका प्रतिनिधि किरण खनाल पनि धेरै विद्यार्थी र अभिभावकमा अस्ट्रेलिया सरकारको उक्त योजनालाई लिएर भ्रम पर्न गएको ठान्छन्। खनालले हाललाई यो व्यवस्थाले नेपाली विद्यार्थीहरुलाई फाइदा नहुने बताए ।
‘तर, यसलाई सकारात्मक संकेतका रुपमा भने लिन सकिन्छ। डिसेम्बरसम्म अस्ट्रेलिया सरकारले ८० प्रतिशत नागरिकलाई दुवै डोज खोप दिइसक्ने लक्ष्य राखेको छ। यसो हँदाखेरि अस्ट्रेलिया प्रवेश र त्यहाँबाट बाहिर जान सहिजो हुनसक्छ,’ प्रतिनिधि किरणले भने।
भ्याक्सिन पासपोर्टले मानिसलाई आफ्नो खोपको स्थिति अन्तर्राष्ट्रिय रुपमा प्रमाणित गर्न सहयोग गर्ने अस्ट्रेलिया सरकारले जनाएको छ। तर अस्ट्रेलिया फर्कने क्रममा मानिसहरुलाई खोपका दुवै मात्रा लगाइसकेको प्रमाणित गरे पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता कायमै रहने छ।
प्रधानमन्त्री स्कट मोरिसले खोप लगाइएका मानिसहरुलाई विशेष सुविधा उपलब्ध गराउने हेतुले यस्तो योजना ल्याउन लागेको बताएका छन्। ‘खोप लगाउने नागरिकमा जोखिम कम हुनाले यो आवश्यक छ, यसले संक्रमित हुनबाट बचाउँछ र संक्रमण हुने खतबारबाट पनि बचाउँछ,’ उनले भनेका छन्।
अहिले अस्ट्रेलिया कोरोना भाइरसविरुद्ध खोपको तेस्रो चरणमा प्रवेश गरेको छ।