मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँकै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको छ । उनले किन हत्या गरे भन्ने खुलेको छैन । कारण खोज्नतर्फ प्रहरी अनुसन्धान केन्द्रित भएको छ ।
तर, प्रारम्भिक अनुसन्धानमा पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीको निष्कर्ष छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।
कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
प्रहरीले घटनाबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।
गत सोमबार मादी–१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।