शनिबार बिहानदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठक विधान महाधिवेशनमा केन्द्रित भएको छ ।
बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।
उनका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को–को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । उक्त विषय टुंगो लगाउन बैठक फेरि शनिबार नै दिउँसो ३ बजे बस्नेछ ।
विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको उनले जानकारी दिए ।
आजै बस्ने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुनेछ ।
प्रवक्ता को ?
भट्टराईले एमाले प्रवक्ता आफू हुने कि प्रदीप ज्ञवाली भन्ने नटुंगिएको बताए । पार्टीको २०७५ जेठ २ गतेसम्मको अवस्थामा प्रवक्ताको व्यवस्था थिएन ।
उनले त्यतिबेला प्रचार विभाग प्रमुखका रुपमा आफूले निर्णय सुनाउने र सञ्चारमाध्यमका धारणा राख्ने गरेको स्मरण गरे । अहिले आफूले प्रचार विभाग प्रमुखको रुपमा काम गर्ने भट्टराईले बताए ।
एमाले प्रवक्ता को हुने भन्ने विषय पछि टुंगिने उनले बताए ।