अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । एमसिसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन् ।
शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसिसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसिसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले एमसिसीबारे राजनीतिक तहमा छलफल भइरहेको बताएको अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
एमसीसी उपाध्यक्ष सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतसँग भेटेर एमसीसीबारे छलफल गरिसकेकी छन् ।